मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा जाचँ गराउन कठिनाइ भएमा त्यसको वैकल्पिक व्यवस्था केही छ कि ?
सर्वप्रथम पैठारी भएको त्यस्तो मालवस्तु भन्सार प्रक्रियाद्धारा विधिवत भित्रिएको वा प्रवेश गरेको हुनु पर्दछ । यसका लागि प्रज्ञापनपत्र भरी आवश्यक कागजात सम्पूर्ण संलग्न गरी सम्वन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । व्यहोरा मनासिव भएमा भन्सार विभागको महानिर्देशकको पूर्व स्वीकृति लिएर भन्सार क्षेत्र बाहिर सम्बन्धित स्थानमा गई मालवस्तुको जाँचपास गर्न गराउन सक्ने व्यवस्था छ । यसका लागि मालवस्तु जाँच गर्नु पूर्व नै घोषणा गरिएको भन्सार मूल्यमा पचास प्रतिशत थप गरी हुन आउने सम्पूर्ण रकम धरौटीमा राख्नु पर्ने हुन्छ । मालवस्तु जाँचपास गर्दा लाग्ने महसुल भन्दा बढी रकम धरौटीको लिएको भए बढी रकम फिर्ता गरिन्छ । भन्सार क्षेत्र बाहिर गई मालवस्तु जाँचपास गराउँदा प्रति कन्साइन्मेन्ट एक हजार रुपैया शुल्क वापत बुझाउनु पर्दछ र यातायातको साधन प्रयोग गर्नु पर्ने अवस्थामा सम्वन्धित पैठारीकर्ताले नै यसको व्यवस्था मिलाउनु पर्दछ ।
विना पैठारी इजाजतपत्र तथा विना प्रतीतपत्र वा भूक्तानी वेगर समुद्रपार मुलुकबाट पैठारी गर्न पाइने वस्तुहरु के के छन् ?
१)नेपाल सरकारको कार्यालय, सार्वजनिक संस्थान, सामाजिक संस्थान वा प्रतिष्ठानले पैठारी गर्ने वस्तुहरु
२) सम्वन्धित मन्त्रालयको सिफारिसमा नेपालमा संचालित आयोजनाको नाममा पैठारी गरिने संझौतामा उल्लिखित विल अफ क्वान्टिटी बमोजिमका वस्तुहरु
३) कुनै व्यक्ति वा संस्थाले नेपालमा रहेका अशक्त विरामीलाई औषधपोचारको निम्ति उपहार स्वरुप पठाएका आकस्मिक औषधीहरु
४) प्रचार प्रसारको लागि पठाईएका पोष्टर, क्यालेण्डर जस्ता प्रिन्टेड सामग्रीहरु
५) कुनै व्यक्तिले विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाको निमन्त्रणा, सभा, सम्मेलन, वैठक आदिमा भाग लिई उपहार वा पुरस्कार स्वरुप प्राप्त गरेको अमेरिकी डलर १००० सम्मको वस्तु
६) कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्था, सामाजिक संस्था वा व्यक्तिले सम्वन्धित मन्त्रालयको स्वीकृतिमा नेपालमा नाफा आर्जन गर्ने उद्देश्य नभएका सेवामूलक संघ, संस्थालाई प्रदान गर्ने उपहार, चन्दा, अनुदानका सामानहरु
७) संयुक्त/विदेशी लगानीमा संचालित उद्योगले संझौता बमोजिम पूँजी लगानी वापत पैठारी गरेको मेशीनरी सामान र कच्चा पदार्थहरु उद्योग विभागको सिफारिसमा
८) नेपालमा संचालन भएका आयोजना तथा संयुक्त/विदेशी लगानीमा संझौता अन्तर्गत कार्यरत विदेशी व्यक्ति वा विदेशी लगानीकर्ताले निजी प्रयोजनको लागि पैठारी गरेको सामान सम्बन्धित मन्त्रालयको सिफारिसमा
९) अमेरिकी डलर १००० सम्मको कुनै कम्पनी वा फर्मको चिन्ह अंकित विज्ञापन, लेवल, स्टीकर र नमूना सामाग्रीहरु
१०) विदेशी कम्पनी, संयुक्त लगानीका कम्पनी वा विदेशी एयरलाइन्सका प्रधान कार्यालयले नेपालस्थित प्रतिनिधि कार्यालय, शाखा कार्यालय, वा जनरल सेल्स एजेन्ट (जि.एस.ए.) जस्ता रजिष्टर्ड फर्महरुलाई कार्यालय संचालनको लागि पठाएको अमेरिकी डलर पाँच हजार सम्मका कार्यालय सामानहरु
११) कुनै मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय वा क्षेत्रीय संघ संस्थाले आफ्नो प्रयोगको लागि पैठारी गरेको अर्थ मन्त्रालयले भन्सार महसुल , मूल्य अभिवृद्धि कर छुट दिएका सामानहरु
पर्वतारोहण दल वा अध्ययन वा अनुसन्धान दलले पैठारी गर्न पाउने व्यवस्था के छ ?
पैठारी गर्ने सामानहरुको हकमा सम्बन्धित मन्त्रालयको सिफारिस चाहिन्छ ।
नेपालको वाटो गरी पर्वतारोहण दलले पुनः अर्काे मुलुकमा निकासी गर्न पाउने व्यवस्था के छ ?
नेपालको वाटो भै पुनः आफ्नो देशमा फिर्ता लैजाने वस्तुहरुको लागि सम्वन्धित मन्त्रालयको सिफारिसमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले ट्रान्जीट सुविधा उपलब्ध गराउँदछ ।
पर्यटकहरुले आफ्नो साथमा ल्याउने सवारी साधनमा के कस्तो सुविधा प्रदान गरिएको छ?
पर्यटकहरुले आफ्नो साथमा ल्याउने सवारी साधन कार्नेटको प्रावधान बमोजिम ल्याएमा नेपालमा महसुल नतिरी एक वर्षमा ६ महिनासम्म राख्न सक्ने सुविधा प्रदान गरिएको छ । सो बाहेकको अवस्थामा पर्यटकहरुले एक वर्षमा ३० दिनसम्मको लागि अस्थायी रुपमा सवारी साधन पैठारी गर्न पाउँछन् र त्यस्तोमा सवारी साधन हेरी आर्थिक ऐन बमोजिम दैनिक रुपमा लाग्ने भन्सार महसुल तिर्नुपर्दछ ।
पर्यटकहरुले आफ्नो साथमा कार्ने अन्तरगत ल्याएका सवारी साधन नेपालमा कसैलाई उपहार दिन वा विक्री गर्न पाइन्छ/पाईदैन ?
पाईदैन । यस्ता सवारी साधन अनिवार्य फिर्ता लैजानु पर्दछ ।
पर्यटकले कार्ने अन्तरगत आयात गरेका सवारी साधन तोकिएको समयमा फिर्ता नगरेमा के हुन्छ?
जफत गरिन्छ ।
नेपालमा कुनै कामको लागि विदेशबाट यन्त्र औजार एवं उपकरणहरु पछि विदेशमा फिर्ता पठाउने गरी अस्थायी पैठारी गर्न पाइन्छ/पाइदैन ? त्यस्ता मालवस्तुमा महसुल लाग्छ लाग्दैन ?
विदेशबाट कुनै खास कामको लागि अस्थायी रुपमा विदेशबाट यन्त्र औजार एवं उपकरणहरु आयात गर्न पाइन्छ । यसरी पैठारी गर्दा कुनै मन्त्रालय वा दूतावासले सिफारिश गरेको छ भने तीन महिनासम्मको लागि महसुल लाग्दैन । यस्तो सिफारिश नभएको खण्डमा लाग्ने कर महसुल धरौटीमा राखी एक वर्षसम्मको लागि ल्याउन पाइन्छ । तोकिएको समयभित्रै फिर्ता गरेमा धरौटी रकम पुरै फिर्ता हुन्छ ।
कुनै विदेशी मुलुकबाट मालवस्तु आयात गरी सोही रुपमा विदेशमा पठाउन सकिन्छ कि सकिंदैन यसरी पठाउँदा के कस्तो प्रक्रिया अपनाउनु पर्दछ र महसुल कति लाग्दछ ?
विदेशी मुलुकबाट आयात गरेको मालवस्तु सोही रुपमा भारत वाहेक अन्य मुलुकमा निकासी गर्न सकिन्छ । यसरी निकासी गरिने मालवस्तु पैठारी गर्दाकै अवस्थामा भन्सार कार्यालयमा सो व्यहोरा उल्लेख गरी निवेदन दिनु पर्दछ । सो निवेदनको आधारमा भन्सार कार्यालयले धरौटीमा जाँचपास गर्दछ । पैठारी गरेको मितिले ६ महिनाभित्र विदेश निकासी गरेपछि भन्सार कार्यालयले लाग्ने भन्सार महसुलको दश प्रतिशत कटाई बाँकी कर महसुल फिर्ता दिन्छ । तर, मिल मेशिनरी र कच्चा पदार्थहरु यस प्रावधान बमोजिम निकासी गर्न मिल्दैन ।
विदेशी मुलुकमा हुने मेला प्रदर्शनीको लागि मालवस्तु लिएर जाँदा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्दछ ?
मेला वा प्रदर्शनी कुन देशमा कहिलेदेखि कहिले सम्म हुने हो भन्ने विषयको आधिकारिक जानकारीको लागि निकासी तथा व्यापार प्रबद्र्धन केन्द्रको सिफारिश सहित सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्दछ । यसरी निवेदन दिए पछि सम्बन्धित भन्सार कार्यालयले निकासी गर्दा लाग्ने महसुल धरौटीमा लिई निकासी गर्न दिन्छ । यस्ता मालवस्तु मेला प्रदर्शनीमा विदेशमा विक्री गरेमा सोको विदेशी मुद्रा आर्जन गरेका प्रमाण भन्सारमा पेश गर्नुपर्दछ । विक्री नभइ बाँकी रहेका मालवस्तु मेला वा प्रदर्शनी समाप्त भएको मितिले ३० दिनभित्र फिर्ता ल्याउनु पर्दछ । सो अवधि भित्र फिर्ता नल्याएमा पछि नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्दछ ।
मेला वा प्रदर्शनीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट लगेको मालवस्तु पछि बीरगञ्ज भन्सार कार्यालयबाट फिर्ता ल्याउन पाइन्छ पाईदैन ?
पाईदैन । जुन भन्सार कार्यालयबाट निकासी गरेको हो सोही भन्सार कार्यालयबाट पैठारी गर्नु पर्ने व्यवस्था भन्सार नियमावली, २०६४ ले गरेको छ ।
मालवस्तु पैठारी वा निकासी गर्दा प्रज्ञापन पत्र भर्न नपर्ने कुनै मालवस्तु छन् कि ?
छन् । नेपाल वाहिर जाने र विदेशी मुलुकबाट नेपाल भित्र आउने यात्रुको साथमा रहेको गुण्टाझिटी भारीमा रहेका मालवस्तु मध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी भन्सार महसुल नलाग्ने भनी तोकेको मालवस्तुको प्रज्ञापनपत्र भर्न पर्दैन ।
कुनै मालवस्तु विदेशमा मर्मत गर्न लैजाँदा के कस्तो प्रक्रिया अवलम्बन गर्नु पर्दछ ?
मर्मत गर्न लैजाने मालवस्तुको पूरा विवरण प्रज्ञापनपत्रमा भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्ने र भन्सार अधिकृतले सो मालवस्तु हवाईजहाज वा हेलिकप्टर वा तिनका पार्टपूर्जा भएमा मूल्यको ०.५ प्रतिशत र अन्य मालवस्तुमा मूल्यको ५ प्रतिशत धरौटी लिई मर्मत गर्न लैजान दिने व्यवस्था छ ।
मर्मत गर्न लगेको मालवस्तु कति समयमा फिर्ता ल्याउनु पर्दछ ? भन्सार महसुल लाग्छ लाग्दैन ?
तीन महिनाभित्र फिर्ता ल्याउनु पर्छ । तोकिएको समयमा मर्मत गरी फिर्ता ल्याएमा मर्मत खर्चलाई मूल्य मानी त्यसमा नियमानुसारको कर एवं महसुल लिई पहिला धरौटी राखेको रकम वढी भएमा फिर्ता दिइन्छ ।
मर्मत गर्न लगेको मालवस्तु मर्मत गर्न वढी समय लाग्ने भई तीन महिनाभित्र फिर्ता गर्न नसकिएमा म्याद थप गर्न पाइने केही व्यवस्था छ कि ?
छ । तीन महिनाको अवधिले नपुगेमा भन्सार कार्यालयले अर्को तीन महिना म्याद थप गर्न सक्छ र सो पनि नपुगेको खण्ण्डमा विभागको स्वीकृति लिई भन्सार अधिकृतले आवश्यक म्याद थप गर्न सक्छ ।
मर्मत गर्न लगेको मालवस्तुको म्याद नाघेको र म्याद थप नभएको अवस्थामा के हुन्छ ?
पहिले राखेको धरौटी जफत हुन्छ र नयाँ मालवस्तु पैठारी गरे सरह महसुल लाग्दछ ।
भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु बाटोमा अन्य निकायले पुनः जाँच गर्न पाउँछ/पाउँदैन ?
राजस्व चुहावट सम्बन्धी प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकार प्राप्त अधिकारी बाहेक अर्थ मन्त्रालय वा भन्सार विभागका महानिर्देशकको पूर्व स्वीकृति नलिई अन्य निकायले खोल्न हेर्न र जांच्न पाउँदैन ।










