विश्वव्यापीकरणले विश्वका स्वतन्त्र मुलुकहरूलाई Global Village को रूपमा परिणत गरेको छ । ज्ञान, पुँजी, प्रविधि, विचार, श्रम, वस्तु, सेवा, स्रोतसाधन, व्यापार, लगानी र संस्कृतिको स्वतन्त्र र निर्बाध प्रवाहले विश्वलाई एकीकरण गरेको छ । सूचना प्रविधिको विकास, यातायात तथा सञ्चारको विकासले मुलुकहरूको भौगोलिक सिमानालाई सीमित गरिदिएको छ । मुलुकहरू बिचको पारस्परिकता, अन्तरनिर्भरता र अन्तरसम्बन्धको विकासले परम्परागत कूटनीतिमा समेत परिवर्तन आएको छ ।
परम्परागत रूपमा एक मुलुकले अन्य मुलुकहरूसँग सम्बन्ध राख्दा रणनीतिक रूपमा प्रतिरक्षाका लागि मात्रै राखिन्थ्यो । तर, आज आएर त्यस्तो मान्यतामा परिवर्तन आई आजको अन्तर्राष्ट्रिय सम्बन्ध वैदेशिक व्यापार, वैदेशिक सहायता, वैदेशिक लगानी, पर्यटन, वैदेशिक रोजगारी, सांस्कृतिक सम्बन्ध, भूराजनीतिक सन्तुलन लगायतका विषयहरूको आधारमा निर्धारण गरिने अवस्था सिर्जना भएको छ ।
वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक सवालहरूको वरिपरि केन्द्रित रहने गरी परम्परागत कूटनीतिको स्थान आर्थिक कूटनीतिले प्रतिस्थापन गरेको छ । र हरेक मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको मुख्य अभिप्राय आफ्नो मुलुकको आर्थिक हित प्रवर्द्धन नै हो ।
Economic diplomacy is the method by which states conduct their external economic relations= it embraces how they make decisions domestically, how they negotiate internationally and how the two processes interact.(Nicholas Bayne)
नेपालमा प्रजातन्त्रको पुनस्र्थापना पश्चात प्राप्त आर्थिक विकेन्द्रीकरणको अबधारणाले आर्थिक अधिकारको स्थानीय बिकेन्द्रिकरण हुन नसक्दा नेपालले समय सापेक्ष आर्थिक परिवर्तन गर्न सकेन । फलस्वरूप विश्वब्यापीकरण, निजीकरण र औद्योगीकरणका तरंगहरुमा नेपाल तैरिन सकेन ।
भनिराख्नु पर्दैन नेपाल विश्व मानचित्रमा एक अत्यन्त गरीब एवम् अल्पविकसित देशमध्येको एक हो । एकातिर कुल जनसंख्याको २३ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको, औद्योगिक एवम् आन्तरिक उत्पादन सम्बन्ध अत्यन्त संवेदनशील भएकाले र महाभूकम्पका कारण अधिकांश उद्योगहरु क्षतिग्रस्त भएकाले त्यस क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५–७ प्रतिशतमा सिमित रहेको, ७० प्रतिशतभन्दा बढी जनता कृषि क्षेत्रमा आश्रति रहेको छ ।
तर, देशका लागि पुग्ने खाद्यान्न ५० प्रतिशत पनि धान्न नसक्ने अवस्था, चरम लोडसेडिङ, उपभोक्तामुखी चरित्र, बढ्दो युवा जनशक्ति पलाएन, कार्टेलिङ, अनियन्त्रितरूपमा बढ्दो व्यापार घाटा (रू. ५५०.२ अर्ब) लगायत विनासकारी भूकम्पले लगभग कुल जीडीपीको ३० प्रतिशत नोक्सानी एवम् पर्यटन व्यावसाय नराम्ररी थला परेको यथार्थ एकातिर छ भने अर्कोतिर वाषिर्क बजेटमा पूँजीगत खर्च अत्यन्त न्यून (१७ प्रतिशत) रहेको र राजस्व परिचालनबाट पर्याप्त बचत हुन नसकेकाले विकास खर्चमा सहयोग नपुगेको, प्रत्येक वर्ष ५ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको तर स्वदेशमा रोजगारीको अभावमा दैनिक करीब २००० को हाराहारीमा युवा विदेश पलायन भएको र सम्पूर्ण अर्थतन्त्र आयात विप्रेषण (रू. ४३४.६ अर्ब) मा निर्भर रहेकाले अर्थतन्त्रमा जोखिम पनि बढेको छ ।
त्यसैगरी मुलुकमा राजनीतिक स्थायित्व तथा पूर्ण शान्तिको प्रत्याभूति हुन नसक्नु र त्यसमाथि झन् विनासकारी भूकम्पका कारण प्रत्यक्ष वैदेशिक लगानी आकर्षण (केही दाताहरुले पुनःनिर्माणको लागि सहयोग गरे पनि निजीक्षेत्र आकषिर्त हुननसक्नु) र आन्तरिक लगानी पनि प्रवर्धन हुन नसकेकाले देशको अर्थतन्त्र कमजोर भएको छ ।
यसका अतिरिक्त संस्थागतरूपमा झांगिदै गएको विकराल भ्रष्टाचारले आर्थिक विकासको गति ठप्प पारेको र बाषिर्क ८ प्रतिशतका दरले बेरुजु बढ्दै जानुले झन् निराशा छाएको छ । यसैगरि, वर्तमान नेपालको अर्को ठुलो आर्थिक विसंगतिका रुपमा बढ्दो उपभोक्ताबादी प्रवृत्ति देखा परेको छ जुन क्रमिक रूपमा नेपालको अर्थतन्त्र पराधिन हुँदै जानुको एक प्रमुख कारण हो ।
उत्पादनस्तर कुल राष्ट्रिय उपभोगको १० प्रतिशत हुन नसकेको अवस्थामा र विप्रेषणबाट प्राप्त रकम विलासिताका वस्तुमा खर्च गरेर चरम दुरुपयोग आज जसरी नेपाली बजारमा विकास भएर गैरहेको छ यसले राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहयोग गर्नु त कताहो कता बरू झन्झन् महँगा बेरोजगारको संख्यामा वृद्धिले गर्दा गरिब र धनि बिचको खाडल हृवात्तै बढाएको छ ।
नेपालको सन्दर्भमा आर्थिक कूटनीति
> १८औ र १९औ शताब्दीः तिब्बत र बेलायतसँग आर्थिक सम्बन्ध ।
> सन् १९५० वैदेशिक सहायता परिचालनलाई प्राथमिकता । नेपालमा पर्यटन खुला । नेपाल भारत बिच वाणिज्य तथा व्यापार सन्धि ।
>सन् १९६० र ७० व्यापार विविधीकरणमा जोड ।
> सन् १९८० संयुक्त आर्थिक नियोगहरूको गठन ।
> सन् १९९० पछि आर्थिक विकासको लागि कूटनीतिलाई परराष्ट्र नीतिको नयाँ आयामको रूपमा राखियो। खुल्ला र उदारवादी अर्थतन्त्रलाई अवलम्बन ।
> सन् १९९६ आर्थिक कूटनीतिको अध्ययन, अभ्यास र प्रवर्द्धन गर्न High Level Taskforce गठन ।
नेपालको वर्तमान संविधानमा आर्थिक कुटनीतिः धारा ५०(४) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौम समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने तर्फ राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुने नीति । साथै वैदेशिक पुँजी तथा प्रविधि परिचालन गर्ने, गैर आवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति लिइएको ।
नेपालमा आर्थिक कुटनीतिका क्षेत्रहरु
> Development Cooperation (विकास सहायता परिचालन)
> Foreign Direct Investment (प्रत्यक्ष वैदेशिक लगानी
> Promotion of Truism (पर्यटन प्रवद्र्धन)
>Promotion of Foreign Employment (वैदेशिक रोजगार प्रवद्र्धन)
> Promotion of Export Trade (निर्यात व्यापार प्रवद्र्धन)
विद्यमान समस्याहरु
क) व्यापार
> उच्च व्यापार घाटा, व्यापार विविधिकरणको अभाव,
ख) लगानी
> नेपालको कमजोर व्यवसायिक वातावरण,
> उर्जा समस्या, श्रमिक समस्या, बन्द हडताल जस्ता कार्य विदितै,
ग) वैदेशिक रोजगारी
> रेमिटेन्स निर्भर अर्थतन्त्र,
> श्रमिकका अधिकारको रक्षामा उचित कुटनीतिक पहल हुन नसकेको,
घ) गैर आवासीय नेपाली
> गैर आवासीय नेपालीलाई उचित परिचालन गर्न तथा उनीहरुको कमाईलाई लगानीका रुपमा मुलुकमा भित्र्याउन उचित पहल हुन नसक्नु,
ङ) पर्यटन
>उचित सुविधा, सुरक्षा र जयकउष्तबष्तिथ को कमी,
च) वैदेशिक सहायता
>वैदेशिक सहायता प्रतिको परनिर्भरता बढ्दै जानु,
>दाताका स्वार्थ र शर्तहरुलाई इन्कार गर्न नसक्नु,
छ) अन्य
ड्ड संस्थागत क्षमता कमजोर हुनु,
> कर्मचारीहरुमा वार्ता तथा संझौता सीपको उचित विकास गर्नमा ध्यान नदिनु,
> Diplomatic deficit हुनु,
अवसरहरु/संभावनाहरु
> Transit Economy (भारत र चीनको विशाल बजार)
> विप्रषणको निरन्तरता,
> गैर आवासीय नेपालीको बढ्दो चासो,
> नेपालको विभिन्न अन्तरार्ष्टिटय संगठनहरुमा सक्रिय सहभागिता,
> पर्यटन, जडिबुटी, मानव संसाधन लगायतका उच्च संभावनायुक्त क्षेत्रहरु,
अब नेपालले चाल्नुपर्ने कदमहरुः– रणनैतिक आर्थिक कुटनीतिको विकासमा जोड दिने, नेपालको तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभको क्षेत्रमा केन्द्रित हुने, संस्थागत क्षमता विकासमा जोड दिने, निजि क्षेत्रसंगको साझेदारीलाई सबल बनाउने, आर्थिक कुटनीतको वार्षिक योजना बनाई कार्यान्वयन गर्ने, नियोगलाई सक्षम र सबल बनाउने, आर्थिक नीति र वैदेशिक नीतिबीच तादात्म्यता कायम गर्ने, व्यापार तथा लगानी मेलाहरुको आयोजना गर्ने, निजि व्यवसायिक क्षेत्रको भुमिकालाई विस्तार गर्ने, कर्मचारीलाई आर्थिक कुटनीतिको ज्ञान सीप अभिवृद्धि गर्न तालिम दिने आदि जस्ता कार्य गर्न सकेको खण्डमा नेपालको आर्थिक कुटनीति कायपलट देखिन्छ ।आर्थिक उदारीकरण र विश्वव्यापीकरणले निम्त्याएका लाभहरू अधिक रूपमा आकर्षण गर्दै मुलुकको आर्थिक स्वार्थलाई प्रवर्द्धन गर्न आर्थिक कूटनीति अपरिहार्य छ । भारत र चीन जस्ता ठुला अर्थतन्त्रको बिचमा रहेको नेपालले प्रभावकारी आर्थिक कूटनीति, सन्तुलित परराष्ट्र नीतिको माध्यमबाट यी दुई विशाल अर्थतन्त्रबाट व्यापार, लगानी, र सहायता भित्र्याउन सक्ने प्रशस्त अवसर रहेको छ । यसको लागि आवश्यक नीति, कानुन, संरचना, र आधारशिलाको निर्माण, कूटनीतिक पहल, राजनीतिक सहमति र प्रतिबद्धता, क्षेत्रीय र विश्व आर्थिक मञ्चहरूको भरपुर उपयोग र सबल तथा भरपर्दो शान्ति सुव्यवस्थाको वातावरण तयार गर्न सक्नुपर्छ । विश्वव्यापिकरण को होडबाजि मा कुनै राष्ट्रले फाईदा बाँडफाड गर्ने कुनै नियम हुदैन यसको लाभ जसले लिन सक्यो उहि धनी बन्छ भने प्रतिस्पर्धामा कमजोर हुने राष्ट्र चाहि झन–झन कमजोर बन्दै जाने र झनै गरिवीमा फस्ने ठुलो जोखिम हुन्छ त्यसैले आर्थिक कुटनीति मजबुद हुनु एकदमै जरुरी देखिन्छ। यसका साथै संस्थागत सुधार, निजी क्षेत्रसँग समन्वय, कूटनीतिक नियोगहरू परिचालन र सशक्तीकरण, अन्य मन्त्रालयहरूसँग अर्थ मन्त्रालयको समन्वय, सहकार्य र सञ्चारको व्यवस्थापन गर्न आवश्यक छ ।
निष्कर्षः–
अहिले अधिकांश तेस्रो विश्वका विकासोन्मुख मुलुकहरूमा दोहोरो अंकको आर्थिक वृद्धिदरको लहर चलेको छ । लामो समय गृहयुद्धमा फसेको मंगोलिया लगाएत अन्य केही अफ्रिकी मुलुकले साच्चै नै लोभ लाग्दो आर्थिक वृद्धि हाँसिल गरिरहेका छन् ।हाम्रै छिमेकी मुलुक चीनमा आर्थिक वृद्धि केहि सुस्ताय एता पनि त्यसका लागि उसले निर्यात प्रवर्धन गर्ने खालको नँया आर्थिक नीति घोषणा गरिसकेको छ भने भारतको आर्थिक वृद्धि केही वर्षमै चीनलाई पछार्ने खालले अगाडी बढिरहेको छ ।जर्मनी र जापानजस्ता आर्थिकरूपले सम्पन्न मुलुकमा ‘दोहोरो अंकको आर्थिक वृद्धि दर समाप्तिको घोषणा’ गर्दै ‘शून्य मुद्रास्फीति दर’, ‘शून्य बजेट घाटा’ र ‘शून्य ऋण गार्हस्थ्य उत्पादन अनुपात’ को तयारीमा जुटेका छन् ।छिमेकी चीन सन् २०२२ सम्ममा विश्वको पहिलो आर्थिक शक्तिको रूपमा स्थापित हुने तयारीमा जुटेको छ भने अर्को छिमेकी मुलुक भारत पनि विश्वमा आर्थिकरूपले शक्ति राष्ट्र बन्ने होडमा लागेको छ । तीव्र आर्थिक प्रगतिको दौडमा रहेका दुई विशाल छिमेकीको बीचमा नेपाल अति बिपन्न, झनझन दरिद्र र अभागी जनता भएको मुलुकका रूपमा रहनु हाम्रो विडम्बना मात्र हैन दुर्भाग्य पनि हो । यसका लागि सरकारले ‘शून्य भन्सार दर’ ‘पारदर्शी तथा मितव्ययी सरकार’, ‘मेरिटोक्रेसी’ र ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ जस्ता प्रावधान अगाडि बढाउदै वैदेशिक लगानी बढीभन्दा बढी आकर्षित गर्नेखालको नीति अबलम्बन गर्नुपर्ने देखिन्छ । समग्रमा, कसरी नेपाली अर्थतन्त्रलाई छिमेकी अर्थतन्त्र, क्षेत्रीय अर्थतन्त्र र विश्व बजारसँग प्रभावकारी ढंगले जोडेर विश्वव्यापीकरण, उदारीकरण र निजीकरणबाट फाइदा उठाउँदै उच्च, दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि दर हाँसिल गर्ने र त्यसका लागि कसरी दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोगलाई आर्थिक कूटनीतिको माध्यमबाट उद्योग, व्यापार र लगानीको क्षेत्रमा अधिकतम परिचालन गर्ने ? जस्ता प्रश्नको उत्तरबाट नै अबको नेपालको विकासको दूरगामी प्रभाव पर्ने नक्शा कोर्न सक्छ ।










