विषय प्रवेश:
सार्वजनिक निकायबाट भए गरेका आर्थिक कारोबारहरूको आन्तरिक रूपमा गरिने जाँच, विश्लेषण, मूल्याङ्कन कार्य आन्तरिक लेखा परीक्षण हो । आन्तरिक लेखापरीक्षणले समयमै भए गरेका आर्थिक कारोबारहरूमा देखिएका कमी कमजोरी औंल्याइ बेरुजु न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यद्यपि नेपालमा आन्तरिक लेखापरीक्षण कर्मकाण्डी र रातो मसी पोत्ने कार्यमा सीमित हुनुले बेरुजु न्यूनीकरणको महत्त्वपूर्ण पाटोमा चुकेको देखिन्छ ।
वेरुजुको हिस्सा वढी हुनुमा आन्तरिक कमजोर लेखापरिक्षणको कारण नै हो भन्ने भनाइप्रति मेरो धारणा :
महालेखा परीक्षक कार्यालयबाट प्रत्येक वर्ष प्रकाशित हुने वार्षिक प्रतिवेदनले बेरुजु वर्षेनि बढ्दै गएको प्रवृत्ति देखाउँदछ । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार संघ, प्रदेश, स्थानीय तहको कुल बेरुजुमा असुल गर्नुपर्ने १८.२९ प्रतिशत, नियमित गर्नु पर्ने ४६.७५ र पेस्की बेरुजु ३४.९६ प्रतिशत रहेको छ । यसरी बेरुजु बढ्दै जानुमा कमजोर आन्तरिक लेखा परीक्षण एक प्रमुख कारण भए तापनि आन्तरिक लेखापरीक्षण मात्रै यसको पूर्ण कारण नभएर विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासनको अभाव, सूचना प्रविधिको न्यून उपयोग, कमजोर आन्तरिक नियन्त्रण प्रणाली जस्ता पक्षहरु समेत जिम्मेवार रहेको पाउन सकिन्छ । यसै गरी निकासा तथा खर्च प्रणाली, लेखाङ्कन प्रणाली, प्रतिवेदन प्रणालीमा रहेको कमजोरी र कमजोर अनुगमन, मूल्याङ्कन प्रणाली समेत यसका लागि उत्तिकै जिम्मेवार देखिन्छन् । तसर्थ वेरुजुको हिस्सा वढी हुनुमा आन्तरिक लेखा परीक्षण कमजोर हुनु एक प्रमुख कारण भएता पनि वित्त व्यवस्थापन सँग सम्बन्धित सवै पक्षहरु कुनै न कुनै रुपमा जिम्मेवार रहेको पाइन्छ ।
आन्तरिक लेखापरिक्षण प्रणालीमा देखिएका विद्यमान मुलभूत समस्या
आन्तरिक लेखापरिक्षण प्रणालीमा देखिएका विद्यमान मुलभूत समस्याहरु देहाय बमोजिम उल्लेख गरेको छु।
Ø आन्तरिक लेखापरीक्षणसँग अन्तिम लेखापरीक्षणको सामञ्जस्यता नहनु (विगतका वर्षहरूमा)
Ø आन्तरिक लेखापरीक्षण संस्था भित्रैबाट हुने गरेको, Junior कर्मचारीबाट परीक्षण हुने हुनाले वास्तविक रूपमा परीक्षण गर्न नसक्नु ( स्थानीय तहमा हुने आन्तरिक लेखा परीक्षण सोही तहको आलेप सहायक बाट हुने) ।
Ø आन्तरिक लेखापरीक्षणका लागि छुट्टै जनशक्तिको व्यवस्था नहुँदा लेखाकै जनशक्तिबाट लेखा परीक्षण र लेखा कारोवार दुईटै हुँदा प्रभावकारी हुन नसकेको (कोलेनिकामा कार्यरत जनशक्ति लेखापरीक्षण समूहको नभई लेखाको जनशक्ति हुनु) ।
Ø आन्तरिक लेखापरीक्षण कर्मकाण्डी हुनु र औंल्याएका बेरुजुहरू लाई बेवास्ता र अन्तिम लेखा परीक्षण सम्म पनि सुधार नगर्ने प्रवृत्तिले बेरुजु बढ्दै जानु ।
Ø बेरुजु फछ्यौट जस्ता विषय कार्यालय प्रमुख र अन्य सम्बन्धित कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन र दण्ड, पुरस्कार सँग आबद्ध नगरिनु ।
Ø कमजोर आन्तरिक नियन्त्रण र सोको कार्यान्वयन (कतिपय स्थानीय तहमा आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा नै नगरेको)।
Ø पर्याप्त तालिम तथा सीपको विकास नगरी कोलेनिकामा पदस्थापना हुने लेखाको जनशक्तिबाट आलेप गरिदा प्रभावकारी हुन नसकेको । लेखाको जनशक्ति दरबन्दी अनुसार पदपूर्ति नहुँदा विभिन्न कार्यालयको लेखा राख्ने कार्य समेत कोलेनिकाको कर्मचारीबाट हुने र आलेप पनि सोही कार्यालयको कर्मचारीबाट हुने गरेकोले आलेप प्रभावकारी बन्न नसकेको ।
Ø आन्तरिक लेखापरीक्षण कार्यविधिको पूर्ण पालना नगरिनु र तोकिएको समयमा आलेप हुने नगरेको ।
Ø आलेप कार्य गर्ने जनशक्ति आर्थिक प्रलोभनमा पर्ने गरेको । पेसा गत मूल्य, मान्यता र नैतिक मूल्य मान्यताबाट विचलित हुने गरेको।
यसरी माथि उल्लिखित विभिन्न आन्तरिक लेखा परीक्षण कार्यमा देखिएका समस्याहरू हेर्दा बेरुजुको मात्रा बढ्दै जानुमा आन्तरिक लेखा परीक्षण पनि एक महत्त्वपूर्ण पक्ष हो भन्न सकिन्छ । यद्यपि आन्तरिक लेखा परीक्षण मात्र नभएर अन्य पक्षहरूको कारणले समेत बेरुजुको मात्र बढ्दै गएको यथार्थता नकार्न सकिन्न । बेरुजु निकाल्ने व्यक्ति वा कर्मचारीहरूलाई कुनै किसिमको पनि कारबाही नहुनु, कार्यरत जनशक्तिमा देखिएको सदाचारिता र नैतिकताको अभाव, कार्यदक्षताको अभाव जस्ता तत्त्वहरूले समेत प्रभाव पारेको देखिन्छ । यद्यपि आन्तरिक लेखापरीक्षणले औंल्याएका कमी कमजोरीहरूलाई समयमै सम्बोधन गर्दा बेरुजुको मात्रा न्यूनीकरण गर्ने कार्यमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
आन्तरिक लेखा परीक्षणलाई वस्तुनिष्ठ बनाउन अवलम्बन गरिएका उपायहरू:
माथि उल्लिखित समस्याहरूको समाधानका लागि देहाय बमोजिमका वस्तुनिष्ठ उपायहरू अवलम्बन गरिनु आवश्यक छ ।
Ø आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण बिच अनिवार्य रूपमा तादात्म्यता कायम गरिनु पर्ने ।
Ø आन्तरिक लेखा परीक्षण कार्यका लागि छुट्टै सेवा, समूह गठन गरी दक्ष कर्मचारीहरूको विकास र उपयोग गरिनु पर्ने ।
Ø आन्तरिक लेखा परीक्षणले औंल्याएका बेरुजुहरूलाई कर्मचारीको दण्ड, पुरस्कार र कार्य सम्पादन सँग Tie-up गरिनु पर्ने ।
Ø लेखा परीक्षण कार्यमा सूचना प्रविधिको उपयोग गरिनु पर्ने ।
Ø सङ्गठनको प्रकृति अनुसार छुट्टा छुट्टै आचार संहिताको निर्माण गरी सोको प्रभावकारी कार्यान्वयनमा जोड दिइनु पर्ने ।
Ø सम्पूर्ण सार्वजनिक निकायमा आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गर्ने र सोको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने ।
Ø सबै सरकारी कार्यालयमा आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखा परीक्षण समितिलाई क्रियाशील बनाउने ।
Ø लेखाको जनशक्ति दरबन्दी अनुसार पदपूर्ति गरी क्षमता विकास गरी उपयोग गर्ने ।
Ø आन्तरिक लेखा परीक्षण कार्यविधिको पूर्ण पालना गरिनुपर्ने र प्रचलित कानूनले तोकेको समयमा आलेप सम्पन्न गर्नु पर्ने ।
Ø आन्तरिक लेखापरिक्षण लाई गणितीय शुद्धता र नियमिततामा मात्र सीमित नराखी जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा समेत केन्द्रित गर्ने ।
Ø आलेपसँग सम्बन्धित सम्पूर्ण कर्मचारीहरू आर्थिक प्रलोभनमा नपरी पेसागत र नैतिक मूल्य मान्यतामा रही उच्च सदाचार र नैतिकता प्रस्तुत गर्नु पर्ने ।
Ø अन्तर्राष्ट्रिय असल अभ्यास समेतको आधारमा व्यवस्थापकीय र सञ्चालनको जिम्मेवारीबाट लेखा परीक्षण कार्यलाई स्वतन्त्र राख्ने ।
Ø अन्तर्राष्ट्रिय लेखा परीक्षणका मानदण्ड र निर्देशिकाको विकास गरी सो पूर्ण परिपालनामा जोड दिने।
Ø लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएका विषयहरू आन्तरिक नियन्त्रण तथा लेखा परीक्षण समितिमा छलफल गरी समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने ।
माथि उल्लिखित सुझावहरू कार्यान्वयनका लागि देहाय बमोजिमको नमुना कार्य योजना पेस गरेको छु ।
नमूना कार्ययोजना
x
निष्कर्ष :
सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी एवं नतिजामूलक बनाउन आन्तरिक लेखा परीक्षण प्रमुख आधार हो । सार्वजनिक निकायबाट सम्पादन भएका कारोबारहरूमा देखिएका विभिन्न त्रुटिहरू समयमै परीक्षण गरी सच्याउनका लागि आन्तरिक लेखा परीक्षणले महत्त्वपूर्ण भूमिका खेल्छ । आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाइ वित्तीय अनुशासन कायम गर्न सकिएमा वर्षेनि वढ्दै गएको बेरुजुको मात्रामा उल्लेखनीय रूपमा कमी हुने देखिन्छ ।






0 Comments:
Post a Comment