दण्ड (Punishment): कानुनद्वारा निषेधित कसूर वा कानुनी दायित्वको उल्लङ्घन प्रमाणित भएपछि लगाइने कानुनी प्रतिकूल परिणाम हो। यसको उद्देश्य न्यायको स्थापना, कसूर निवारण र दोषीको सुधार हो। यसमा मौद्रिक र फौजदारी (कैद) दुवै सजाय समेटिन सक्छ।
जरिवाना (Fine/Penalty): कानुनी दायित्व उल्लंघन गरेबापत कर प्रशासनले व्यक्ति वा संस्थामाथि निर्धारण गर्ने निश्चित वा निर्धारणयोग्य मौद्रिक दायित्व (Monetary Liability) मात्र हो। यसको उद्देश्य क्षति परिपूर्ति र अनुचित लाभलाई निरुत्साहित गर्नु हो।
१. दण्ड तथा जरिवानाका सिद्धान्तहरू:
- कानुनी आधारको सिद्धान्त: कानुनले स्पष्ट रूपमा व्यवस्था नगरेसम्म कसैलाई दण्ड वा जरिवाना गर्नु हुँदैन।
- अपराध तथा दण्डको पूर्वनिर्धारितता: कुन कार्य कसूर हो र त्यसको सजाय कति हुन्छ भन्ने कुरा पहिले नै स्पष्ट हुनुपर्छ।
- आनुपातिकताको सिद्धान्त (Proportionality): कसूरको प्रकृति, गम्भीरता र क्षतिको तुलनामा दण्ड अत्यधिक वा न्यून हुनु हुँदैन।
- समानताको सिद्धान्त (Equality): समान प्रकृतिको कसूरमा समान व्यवहार हुनुपर्छ, हैसियतका आधारमा विभेद गर्न पाइँदैन।
- दोषको सिद्धान्त (Culpability): जानाजानी गरिएको कसूर र वास्तविक/भूलवश भएको त्रुटिबीच उचित भेद हुनुपर्छ।
- द्वैध दण्ड निषेध (Double Jeopardy): एउटै कसूरका लागि एउटै आधारमा दोहोरो दण्ड दिनु हुँदैन।
- सुधारात्मक सिद्धान्त: करदातालाई सजाय मात्र दिने नभई सुधार गरी स्वैच्छिक अनुपालनतर्फ लैजानु।
- मानवीयता तथा न्यायसंगतताको सिद्धान्त: प्राकृतिक विपत्ति वा नियन्त्रण बाहिरको परिस्थितिलाई विचार नगरी यान्त्रिक रूपमा दण्ड लगाउनु हुँदैन।
२. नेपालको VAT दण्ड प्रणालीका समस्याहरू:
- आनुपातिकताको अभाव: कसूर र दण्डबीच पर्याप्त तादात्म्यता वा आनुपातिकता नहुनु।
- भेदभावपूर्ण विवेकाधिकार: दण्ड निर्धारणमा कर अधिकृतको विवेकाधिकारको असमान वा स्वेच्छाचारी प्रयोग हुनु।
- दण्डमुखी कर प्रशासन: "कर अनुपालन" गराउनुभन्दा "दण्ड असुली" लाई मात्र राजस्व संकलनको साधन बनाउने जोखिम।
- त्रुटि र छलीबीच भेद नहुनु: भूलवश भएको प्राविधिक त्रुटि र जानाजानी गरिएको कर छलीलाई एउटै दृष्टिले हेरिनु।
- कार्यान्वयनमा ढिलाइ: मुद्दा, पुनरावेदन र फौजदारी प्रकृतिको दण्ड कार्यान्वयनमा अत्यधिक समय लाग्नु।
- एकरूपताको अभाव: फरक-फरक कर कार्यालयहरूबीच दण्ड कार्यान्वयनमा एकरूपता नहुनु।
३. सुधारका उपायहरू:
- वर्गीकृत दण्ड प्रणाली: "गल्ती सच्याउनेलाई सहजीकरण, लापरवाही गर्नेलाई आनुपातिक जरिवाना र जानाजानी कर छली गर्नेलाई कडा कानुनी कारबाही" को नीति लागू गर्ने।
- विवेकाधिकार नियन्त्रण: दण्ड र जरिवानालाई कर्मचारीको व्यक्तिगत विवेकमा अत्यधिक निर्भर नराखी प्रणालीगत (System-based) बनाउने।
- करदाता शिक्षा र सचेतना: आर्थिक ऐन मार्फत भएका संशोधन र सर्वोच्च अदालतबाट भएका व्याख्याहरूको संग्रह बनाई करदातालाई समयमै सुसूचित गर्ने।
- पारदर्शिता र कानुनी आधार: दण्ड वा जरिवाना लगाउँदा कानुनी आधार, तथ्य, प्रमाण र निर्णयको कारण स्पष्ट उल्लेख गर्ने।
- इमानदार करदाताको संरक्षण: असल अनुपालन रेकर्ड (Compliance Record) भएका करदातालाई प्रोत्साहन र संरक्षण दिने नीति अवलम्बन गर्ने।
No comments:
Post a Comment